इलाम, २४ असारः संयुक्त राज्य अमेरिकाले दोस्रो विश्वयुद्ध अन्त्य गर्नेगरी आणविक बम (फ्याट म्यान) खसालेपछि जापानको नागासाकीमा पानी परेन । आणविक प्रदूषणका कारण कुनै बिरुवा उम्रिन नसकिरहेको त्यस क्षेत्रमा छ महिनापछि एउटा बिरुवा पलाउन थाल्यो । त्यो थियो– जिङ्गो बिलोबा Ginkgo biloba । जिङ्गो बिलोबालाई जीवित अवशेष (लिभिङ फोसिल्स) समेत भनिन्छ । २७ करोड वर्ष पुरानो मानिने यो बिरुवा नेपालमा राणाकालमा भित्रिएको वनस्पतिविद्हरू बताउँछन् । डायनोसरकालीन जिङ्गोलाई आणविक बमले पनि मास्न नसकेको विज्ञहरु बताउँछन् ।
हो, यही जिङ्गो बिलोबा वि.सं.२०६८ सालमा इलाम नगरपालिकाले ल्याएर चियाबारी क्षेत्रमा रोपिएको थियो । इलाम नगरपालिकाका तत्कालिन वातावरण शाखा प्रमुख कमल मैनालीका अनुसार सो समय करिब ३ सयको हाराहारीमा विरुवा खरिद गरेर रोपिएको थियो । तर संरक्षणको अभावमा त्यहाँ रोपिएका सबै विरुवाहरु नासिएका थिए । चियाबारी क्षेत्रमा रोपिएपछि बढी भएको दुई थान विरुवा इलाम नगरपालिकाको स्वामित्वमा रहेको इलाम नगरपालिका ७ ठुलो टुँडिखेल छेउको कफि हाउसमा रोपिएको थियो । अहिले सोही कफि हाउसको परिसरमा रोपिएको दुई वटा विरुवा हुर्किएका छन् ।
तर यसरी हुर्किएको यो अलौकिक विरुवा सडक छेउमा रहेको कारण संकटमा पर्न सक्ने स्थानीयहरुको भनाई रहेको छ । सडक बिस्तार गर्ने क्रममा यो विरुवा काटिन सक्ने, उक्त क्षेत्र पछिल्लो समय नेपाली सेनाले आनो स्वामित्वमा रहेको दाबी गरेकोले यसको महत्व बुझ्न नसकेर मासिने, सडक नजिक भएका कारण बटुवाहरुले यस विरुवालाई पहिचान गर्न नसकेर भाँचिदिने जस्ता कार्य हुन सक्नेबाट उनीहरु चिन्तित भएको स्थानीय अनिल मैनालीले ग्रीन इलामलाई बताए । सो बिरुवालाई तार जालीले घेराबारा गरे तत्कालै संरक्षण गर्न इलाम नगरपालिकाले आवश्यक कदम चाल्नु पर्ने मैनाली बताउँछन् ।