इलाम, २९ फागुन: बुबा सुवासचन्द्र नेम्वाङले जमानामा राम्रो फुटबल खेल्ने गरेको सुहाङले सानैदेखि सुन्दै आएका थिए। कलेजमा हुँदा टोलीको कप्तान नै रहेका सुवासले पनि छोरालाई बेलाबेलामा आफ्नो समयको खेलकुदका किस्सा सुनाउने गर्थे।
बुबाले सुनाउने यस्तै प्रसंगहरुबाट सुहाङमा खेलकुदप्रति चासो जाग्न थालेको थियो। र, खेलप्रति उनको खास रुचि भने ग्यालेक्सी पब्लिक स्कुलमा बिजारोपण भयो। जहाँ उनी स्कुलस्तरीय प्रतियोगितामा सहभागी हुन थाले।
फुटबलमा रुचि भएपनि करिअर भने सुहाङले कानुनमै रोजे। कारण, पूर्वसभामुख समेत रहेका बुबा सुवास आफैँ अधिवक्ता थिए। बुबाले घरमा तमाम कानुनका किताब पल्टाएको उनी देख्दै आएका थिए। उनी बुबालाई पछ्याउँदै उनको ल फर्मसम्म पनि पुग्थे।
नेम्वाङ परिवारको आर्थिक अवस्था पहिलेदेखि नै बलियो थियो। नगद धेरै नभएपनि पुर्ख्यौली जग्गाजमिन प्रशस्त थिए। राजनीतिमा लागेर सादगीयुक्त छवि बनाएका सुवासले व्यवसायका कुरा कहिल्यै गरेनन्।
आमा भने केही फाट्टफुट्ट व्यवसायमा संग्लन थिइन्। सुहाङलाई त्यो कुराको अभाव खड्किरहेको थियो। त्यसपछि उनले आफ्नो ल फर्म खोले।
‘जब आफ्नो आर्थिक अवस्था बलियो हुन्छ त्यो बेला मान्छेले कहिल्यै पनि गलत काम गर्दैन,’ छुट्टै ल फर्म खोल्नुको कारणबाहेक सुहाङले भने, ‘आफू टिक्न पनि आर्थिक रुपमा बलियो हुनुपर्छ। यो आर्थिक युद्धको समय हो। आर्थिक रुपमा बलियो भयो भने जोसँग पनि लड्न सकिन्छ। त्यहीकारण बिजनेस गर्नुपर्छ भन्ने लाग्यो।’
अनामनगरमा रहेको सुहाङको ल फर्मले मात्रै उनको व्यवसायी बन्ने धोको पुरा गरेको थिएन। उनी अन्य लगानीका सम्भावना खोजिरहेका थिए। त्यहीबेला चौधरी ग्रुपको स्वामित्वमा रहेको नेपाल स्पोर्टस् इभेन्ट म्यानेजमेन्टले नेपाल सुपर लिग नामक फुटबल प्रतियोगिता घोषणा गर्यो।इंग्लिस क्लब लिभरपुलका ‘डाईहार्ड’ फ्यान सुहाङले त्यसबेलै फुटबलमा बिजनेस देखिसकेका थिए। विश्वका चर्चित क्लबहरुको आम्दानी, विश्वभरको फ्यान फलोइङ, फुटबलले पार्ने प्रभावलगायत विषयमा उनलाई राम्रो जानकारी थियो। सोही बुझेका उनले गतवर्ष सुपर लिगको पहिलो संस्करणमै टिम खरिद गर्न चाहेका थिए। तर उनी आयोजकको सम्पर्कमा पुग्दा ढिलो भइसकेको थियो। ७ सहरका ७ फ्रेन्चाइजीहरुले आ–आफ्नो क्लब लिइसकेका थिए।
नेपाल खबरबाट