इलाम, ३० जेठः आज बाल श्रम विरुद्धको अन्तराष्ट्रिय दिवस । यो दिवस हरेक वर्षको जून १२ मा मनाइन्छ । जस्तोसुकै प्रयास गरियो भनेपनि विश्वका विकसित देशमा बाल मजदुरीको अन्त्य हुन सकेको छैन । नेपाल जस्तो अल्पविकसित देशहरुमा बालश्रमको अवस्था अझै भयावह छ । नेपालमा बाल कल्याण समितिका साथै श्रम, रोजगार तथा सामाजिक सुरुक्षा मन्त्रालयले बालश्रम विरुद्ध काम गर्दै आएका छन् । श्रम मन्त्रालयले सन् २०२५ भित्र नेपालबाट बालश्रमको अन्त्य गर्ने घोषणा गरिसकेको छ । नेपालमा इँटा भट्टा, सवारी साधन, घरायसी काम, उद्योग, कलकारखाना, होटल लगायत क्षेत्रमा बालबालिकालाई काम लगाउने गरिन्छ ।
अन्तराष्ट्रिय श्रमिक संगठन (आइएलओ)ले सन् २००३ देखि २०१६ सम्म गरेको सर्वेक्षणले नेपालमा ३१ लाखभन्दा बढी बालबालिका विभिन्न क्षेत्रमा मजदुरी गरिरहेको उल्लेख गरेको छ । ७ देखि १७ वर्षमुनिकालाई बालबालिका मान्दै यो उमेर समूहका ७० लाख बालबालिकामध्ये ३१ लाख ९४ (प्रतिशत)ले बाल मजदुरी गरिरहेको र अधिकांश ग्रामीण क्षेत्रका रहेको आइएलओले जनाएको छ । सर्वेक्षणमा नेपालमा ६ लाख ४० हजार बालबालिका अति जोखिमयुक्त क्षेत्रमा काम गरिरहेको उल्लेख गरिएको छ । आइएलओको सर्वेक्षणमा विश्वमा २२ करोड ५० लाख बालबालिकाले मजदुरी गरिरहेको जनाइएको छ । पूर्वी एसियामा मात्रै करिब ७ करोड बालबालिकाले मजदुरी गरिरहेको आइएलओको सर्वेक्षण उल्लेख छ ।
अमेरिका र युरोपका मुलुकहरुमा सन् १९४० तिर ५ देखि १४ वर्षसम्मका बालबालिकाहरुलाई काम लगाउने प्रचलन नै थियो । उनीहरुलाई कृषि, कलकारखाना, कोइलाखानी, होटल र घरायसी काममा राख्ने गरिन्थ्यो । ती विकसित मुलुकहरुमा सन् १९६० देखि बालश्रम विरुद्ध अभियान चल्न थालेको हो । नेपालमा कति बालबालिका मजदुरी गरिरहेका छन् भने सरकारसँग नै यकिन विवरण छैन । विभिन्न गैरसरकारी संस्थाले गरेको अध्ययनका आधारमा सरकारले तथ्यांक देखाउने गरेको छ ।