इलाम, १८ जेठः वनै वनका कारण ’हरियो वन नेपालको धन’ भन्ने नाराले चिनिएको नेपालमा यही वन क्षेत्रको संरक्षण, सम्र्वधन र उपभोगमा संलग्न उपभोक्तालाई थप जागरुक बनाउन वन उपभोक्ता दिवस मनाउने गरिन्छ । नेपालमा वन संरक्षण र उपयोग सम्बन्धि धेरै तरिका तथा प्रणालीहरु अपनाइएका छन् । सबैभन्दा लोकप्रिय प्रणाली भने वनको सामुदायिकरण नै मानिएको छ । सामुदायिक वनको माध्यमबाट उपभोक्ताहरुमा सामुहिक ऐक्यवद्धता कायम भएको पाइन्छ । वन श्रोतको संरक्षण र उपयोगमा संगठित समाजका रुपमा स्थापित सामुदायिक वन उपभोक्ता महासंघका अनुसार अहिले नेपालमा १३ हजार ५ सय बढी उपभोक्ता समुहहरु सकृय छन् । यस हिसाबले प्रति समुह सरदर एक सय घरधुरीका दरले करिब १४ लाख घरधुरी प्रत्यक्ष उपभोक्ताका रुपमा रहेका छन् । नेपाल सरकारले उपभोक्ताहरुका लागि हस्तान्तरण गरेको सामुदायिक वनका उपभोक्ताहरुको संगठन सामुदायिक वन उपभोक्ता महासंघ वनको संरक्षण र उपभोगको प्रक्रियागत काममा क्रियाशिल छ । यसले सन् १९९५ देखि काम गरिरहेको छ । सामाजिक जीवनसँग प्रत्यक्ष जोडिएर रहेका कारण वनमा उपभोक्ताहरुको संलग्नतालाई सामाजिक अभियानका रुपमा लिने गरिएको छ । सामुदायिक वन र यसमा संलग्न उपभोक्ताहरु नेपालकै वन व्यवस्थापनको क्षेत्रमा मूलधार र नमूनाका रुपमा चिनिएका छन् ।
त्यसो त वन श्रोतको उपभोग तथा व्यवस्थापनका दृष्टिकोणले नेपालको वनलाई सात प्रकारले वर्गिकरण गरिएको पाइन्छ । जसमा राष्ट्रिय वन, धार्मिक वन, निजी वन, सामुदायिक वन, कवुलियति वन र आरक्ष तथा निकुञ्ज र सरकारद्वारा व्यवस्थापन गरिएका वन पर्दछन् । यि सात प्रकारका वनमा एकसय ८९ प्रकारका पारिस्थिक प्रणाली कायम रहेका छन् । नेपालमा भौगोलिकताका दृष्टिकोणले वनलाई ६ भागमा वर्गिकरण गरिएको छ । साल, अस्ना, कर्मा, खयर, सिसौं, सिमल लगायतका वनस्पति पाइने वनलाई उष्ण वन भनिन्छ । त्यसैगरी खोटे सल्ला, चिलाउने, कटुस, उत्तिस, टुनी, सिरिस आदि वनस्पति पाइने वनलाई उपोष्ण वन भनिन्छ । सानो फलाँट, ठूलो फलाँट, बाँझ, गोब्रे सल्ला जस्ता वनस्पतिको वनलाई समशितोष वन भनिन्छ । बाँझ, गुराँस, गोब्रे सल्ला, ठिंग्रे सल्ला, देवदार आदि पाइने वनलाई शितोष्ण वन भनिन्छ । त्यसैगरी सब अल्पाइन वनमा बुंगे सल्ला, गोब्रे सल्ला, भोजपत्र, गुराँस, धुपि आदि वनस्पति र अल्पाइन वनमा झाडीदार धुपी र गुराँसका प्रजातिहरु पाइन्छन् ।
वन ऐन २०४९ अनुसार पूर्ण वा आंशिक रूपमा रूखहरूले ढाकिएको क्षेत्र ‘वन’ हो । यस परिभाषा अनुसार वनले घेरिएको वा वन छेउछाउका पर्ती वा ऐलानी जग्गा, वनभित्रको बाटो, पोखरी, ताल वा खोलानाला र बगर समेत वन हो । वन पैदावार भन्नाले रूख, वनस्पति, पशुपन्छिका अलावा चट्टान, माटो, ढुङ्गा, गिट्टी, बालुवा समेतलाई जनाउँदछ । नेपालमा कुल क्षेत्रफलको लगभग ४० प्रतिशत भूभाग वन रहेको छ । पृथ्वीको ४ दशमलव ३० प्रतिशत क्षेत्र वन छ । पहिले पृथ्वीमा ५० प्रतिशत वन जंगल रहेको अनुमान गरिएको छ । तर मानव सभ्यता र आधुनिक समाज निर्माणसँगै वन क्षेत्र घटेर आवादि क्षेत्र भने बढ्दै गएको हो । वनश्रोत बिना मानवीय आवश्यकताहरु पुरा हुन सक्दैनन् । नेपालमा वनमा रहेको निर्भरताका कारण चाप पनि निकै छ । दाउरा जस्ता काष्ठ पैदावारहरु इन्धनका लागि प्रयोग गर्ने उपभोक्ताहरु उत्तिकै छन् । त्यसैगरी जडिबुटी लगायतका अन्य वनजन्य वस्तुहरु गैरकाष्ठ वन पैदावारका रुपमा प्रयोग गरिन्छन् ।
वन पृथ्वीको एउटा यस्तो हिस्सा हो, जहाँ हरिया वनस्पतिहरुको घना भूभाग रहेको हुन्छ । वनजंगल बिना मानव लगायत जिवित सवै जिवजन्तुका लागि अत्यावश्यक अक्सिजन प्राप्त हुँदैन । वन वन्यजन्तु तथा पंक्षीहरुको मुख्य वासस्थलको हो । वनबाटै स्वच्छ वातावरण प्राप्त हुन्छ । यस्तो अभूतपुर्व महत्व रहेको वनलाई अत्याधिक उपभोग गर्दा मानव जीवन नै संकटमा पर्न सक्दछ । वनको अत्याधिक भन्दा समूचित उपयोगबाट मात्रै मानव जीवन अगाडि बढ्न सक्दछ । यसका लागि उपभोक्ताहरुले निर्वाह गर्ने भूमिका नै निर्णायक हुन्छ । उपभोक्ताहरुकै जागरुकताले वन संरक्षण सम्भव छ । त्यसका लागि सवै उपभोक्ता र सरोकारवालाहरु जागरुक हुनै पर्दछ ।