
विश्व प्रसिद्ध मिस युनिभर्सको फ्रेन्चाइज नेपालमा भित्राएकी नग्माले सन् २०१७ को मिस युनिभर्समा नेपाललाई प्रतिनिधित्व गर्दै पहिलोपटक सहभागिता जनाएकी थिइन्। यस्तै उनले यसपटक आफ्नो तयारी पत्रकार सम्मेलन मार्फत कोरोना भाइरसको कारण सिर्जित अवस्थाले गर्दा गर्न नसकेको बताइन्। उनले अंशिकाको सहभागिता सम्बन्धी बढी जानकारी सामाजिक सञ्जालबाट गराउने पनि बताइन्। अंशिका पनि देशलाई प्रतिनिधित्व गर्न पाउँदा उत्साहित छिन्। उनले आफूसँगै आफ्नो टिमले सक्दो तयारी गरेको जनाइन्। अंशिकाले प्रतियोगिताको पूर्वतयारीसँगै अद्भुत राष्ट्रिय पोशाकलाई विभिन्न सञ्चारका माध्यम मार्फत सार्वजनिक गर्ने बताइन्। उक्त प्रतियोगितामा सहभागिता जनाईसकेकी नग्माको अनुभवले पनि उनलाई तयारीमा सहयोग गरेको छ।
अंशिका भन्छिन्, ‘म निकै उत्साहित छु, यस प्रतियोगितालाई लिएर। किनकी विगत ४ महिनादेखि ट्रेनिङ गरिरहेकी छु। देशलाई नै प्रतिनिधित्व गरिरहेकोले केही नर्भस नहुने कुरा त भएन। साथै पाएको अवसरले उत्साहित पनि बनाएको छ। साथै म यहाँ मिस युनिभर्सको स्टेजमा उभिदा कसरी राम्रो हुन्छ? भनेर मेरो टिम पनि विगत ४ महिना यता मलाई सघाई रहनुभएको छ। यस अन्तर्गत मैले यस प्रतियोगिताका लागि आवश्यक पर्ने सम्पूर्ण प्रशिक्षणहरु लिइएकी छु। साथै, यसपटक अद्भुत राष्ट्रिय पोशाक अन्तर्गत नेपालको सर्वोच्च शिखर सगरमाथा झल्किने प्रस्तुति दिने तयारीमा छु। यसपटक टप २१ मा छानिन भोट आवश्यक पर्छ र त्यो गरिरहनु भएको छ, मलाइ थाहा छ। साथै, जति धेरै भोट हुन्छ, त्यति नै हाम्रो स्थान त्यहाँ सुरक्षित हुन्छ। नेपालको गौरव बढाउने काम गर्ने छु।’
नग्मा श्रेष्ठले भनिन्, ‘पोस्ट प्याजेन्टमा ग्रुमिङलाई यसपटक सुरु गरेँ। पहिला ब्युटी प्याजेन्टमा यस्तो हुन्थेन। तर म आफैँ पनि मिस युनिभर्समा नेपाललाई प्रतिनिधित्व गरिसकेकी हुनाले मैले त्यहाँ प्रतियोगीलाई आवश्यक पर्ने सम्पूर्ण कुराहरुमा ध्यान दिएकी छु। हेयर, वाक, स्पिच, स्टाइलिस लगायतका सम्पूर्ण ट्रेनिङ दिएर हामीले तयार गरेका छौं।’