इलाम, ४ वैशाख ः पूर्वी नेपालको भन्सार नाकाबाट हुने सम्पुर्ण आयात निर्यात बन्द भएको छ । विश्वमा फैलिएको कोरोना संक्रमणको जोखिम देखाउँदै भारतको सिमावर्ती पश्चिम बंगाल सरकारले नेपालसँग जोडिएको नाका बन्द गरेको मेची भन्सार कार्यालयका प्रमुख ध्रुवराज विश्वकर्माले जनाएका छन् । ‘बंगाल सरकारले भारतीय भन्सार कार्यालयलाई पत्राचार गर्दै अनिश्चित कालका लागि कारोबार रोक्न निर्देशन दिएको जानकारी मलाई पारिबाट गराएका छन्,’ भन्सार प्रमुख विश्वकर्माले भारतीय पानी ट्यांकी भन्सारलाई उदृत गर्दै भने ।
विश्वकर्माका अनुसार पश्चिम बंगाल भन्सार विभागका जोइन्ट कमिसनर एसके मोहापात्रले अवस्था सामान्य नभएसम्म भारतबाट निर्यात गर्न नसकिने बताएका छन् । नाकामा आएर थन्किएका वस्तुलाई रिरुट गरी अन्य नाकाबाट पठाउन मोहापात्रले भारतीय भन्सारका अधिकारीलाई निर्देशन दिएको विश्वकर्माले बताए । भारततर्फको नाका बन्द भएपछि भारत, भुटान र बंगलादेश तथा तेस्रो मुलुकबाट नेपालमा हुने आयात ठप्प भएको उनले बताए ।