
इलाम, ८ साउनः मेची भन्सार कार्यालय काँकडभिट्टाबाट गत आर्थिक वर्षमा छ अर्ब ९० लाख रुपैयाँ मूल्य बराबरको अलैँची निर्यात भएको छ । कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुव विश्वकर्माका अनुसार ८५ लाख ६६ केजी अलैँची निर्यात भएको हो । निर्यात हुने वस्तुमा सबैभन्दा बढी अलैंँची नै रहेको छ ।
अघिल्लो आर्थिक वर्षमा चार अर्ब आठ लाख रुपैयाँ मूल्य बराबरको ५९ लाख ९० केजी अलैँची निर्यात भएको थियो । प्रमुख भन्सार अधिकृत विश्वकर्माका अनुसार अलैंँचीपछि सबैभन्दा बढी चिया निर्यात भएको छ । गत आर्थिक वर्षमा तीन अर्ब ३१ लाख रुपैयाँ मूल्य बराबरको एक करोड १२ लाख ६७ हजार केजी चिया निर्यात भएको थियो ।