इलाम, २८ साउनः इलाम नगरपालिकाले नगरबासीहरुलाई कोरोना बिमा गर्नको लागि प्रोत्साहन स्वरुप वडा कार्यालयबाट जारी गरिने सिफारिस निशुल्क प्रदान गरिने नगरले जनाएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट उत्पन्न हुन सक्ने जोखिमको आर्थिक सुरक्षण प्रदान गर्न यस आर्थिक वर्षको बजेटमा कोरोना बिमा सम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न नेपाल सरकार, अर्थ मन्त्रालयको सहमतिमा बिमा समितिले कोरोना बिमा मापदण्ड, २०७७ जारी गरी साउन २१ गते विज्ञप्ति समेत जारी गरेको र सो कोरोना बिमामा नेपाल सरकारबाट आम नागरिकले गर्ने सामुहिक कोरोना बिमामा ५० प्रतिशत अनुदानको व्यवस्था भएको प्रेस विज्ञप्तिमा उल्लेख भएको छ ।
त्यस्तै, बिमा समितिले बिमालेख खरिद गर्नका लागि नेपाली नागरिक हुनु पर्ने, कुनै नेपाली नागरिक भारत वा तेस्रो मुलुकबाट नेपाल फर्केको रहेछ भने १५ दिन अनिवार्य रुपमा क्वारेन्टाईनमा र बाँकी १५ दिन आफ्नो परिवारसँग गरी कुल ३० दिन बसेको सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात हुनु पर्ने, सामुहिक कोरोना बिमाका लागि आफ्नो एकाघर परिवारका सदस्यहरु उल्लेख गरिएको स्वघोषणासहित सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात हुनु पर्ने, एकल वा सामुहिक कोरोना बिमा खरिद गर्न चाहने व्यक्ति वा परिवार विगत ३० दिनसम्म नेपालमा बसोबास गरेको स्थानीय तहले प्रमाणित गरेको कागजात हुनु पर्ने न्यूनतम शर्त समेत तोकेको छ ।
बिमा समितिबाट जारी प्रेस वक्तव्य अनुसार कोरोना बिमाको बिमाङ्क रकम र बिमा शुल्कका सम्बन्धमा १ लाख रुपैंयाँ बिमाङ्क भएको बिमा लेखको लागि प्रति व्यक्ति १ हजार र ५० हजार रुपैंयाँको बिमाङ्कका लागि प्रतिव्यक्ति ५ सय रुपैंयाँ बिमा शुल्क र सगोलमा बसेको परिवारका सम्पूर्ण सदस्यहरुको सामूहिक बिमा गरिएको खण्डमा १ लाख रुपैंयाँको बिमाङ्कका लागि प्रति व्यक्ति ६ सय र ५० हजार रुपैंयाँको बिमाङ्कका लागि प्रति व्यक्ति ३ सय रुपैंयाँ बिमाशुल्क लाग्ने र बिमा लेखको अवधि आगामी २०७८ साल असार मसान्त सम्मको हुने वक्तव्यमा उल्लेख गरिएको छ ।