सलह झुण्ड( Locust Swarm ) परिचय र प्रकोप

ललित बि.सि. / महेश कुमार भण्डारी

सलह फट्याङ्ग्रा प्रजातिको हानिकारक किरा हो । अफ्रिकाबाट सन् २००३ देखि २००५ सम्म यसको प्रकोप विशाल रुपमा फैलिएको मानिएको छ । अन्ट्राटिका र उत्तर अमेरिका बाहेकका सबै जसो महादेशमा यो विपत्ति फैलिएको पाइएको छ । सलह किराहरु धेरै प्रजातीका रहेका छन् । ती मध्ये अस्ट्रेलियामा फैलिएको सलहलाई अस्ट्रेलियन प्लेग लोकस्ट भनेर चिनिन्छ भने अमेरिकामा फैलिएको किरालाई अमेरिकन लोकस्ट भनिन्छ । तर, यो सलहले झुण्ड प्रकारको व्यवहार भने देखाउँदैन् । सबैभन्दा हानिकारक सलह भनेर मरुभूमिको सलहलाई चिनिन्छ । जुन अहिले पनि धेरै ठाउँमा फैलिएर विनाश फैलाइरहेको छ ।

सलह किरा निकै पुरानो पुरानो प्रवासी शत्रु जीव हो । सलह किराको संख्या सुरुमा कम हुने गर्दछ । तर, लगातार वर्षा (औसत २०० मि.मि.) को कारण उक्त ठाउँ चिस्सिएर अण्डाबाट निस्किन उपयुक्त वातावरण सिर्जना भई प्रजजन् दर बढेको पाइन्छ । हरेक पटकको प्रजननमा यो किरा २० फोल्डसम्म सँगसँगै नयाँ पुस्ता २० गुणा ठूलो हुने र यस किराको बाँच्ने दर समेत ३–५ महिना जति हुने गर्दछ । यद्यपि यी कुराहरु वातावरणमा पनि निर्भर रहन्छन् । उमेर बढेसँगै पछाडिको खुट्टामा स्पर्श उत्तेजनाको कारणले गर्दा सेरोटोनिन हर्मोनको मात्रा बढेर सलह किराको रंग, आहारा र प्रजननमा फरकपना आउँदछ ।

२०–४० दिन सम्मका किरालाई होपर भनिन्छ, जुन हरियो रंगको हुन्छ र पखेटा बिहीन यो अवस्थामा सो किराहरुले २ देखि १० से. मि. को प्वाल खनेर ३० देखि ७० सम्म अण्डाहरु पार्दछन् । उपयुुक्त समय मिलेमा २ हप्तामै अण्डाबाट किरा निस्कन सक्ने हुन्छ र शत प्रतिशत बाँच्न सक्ने क्षमता समेत हुने गर्दछ । तर, पनि किराहरुलाई नियन्त्रण गर्ने उत्तम समय यहीं मानिन्छ । त्यसपछि बढेर उड्न थाल्ने चरणमा पुग्दछ । २–४ महिनामा जब यसले परिपक्वता पाउँदछ र यसको रंग हरियोदेखि खैरो र गुलाबी हुँदै वयस्क हुँदा फेरि पहेँलो हुने गर्दछ । जुन अवस्थामा यसको नियन्त्रण लगभग असम्भव छ भन्दा पनि हुन्छ ।

यी किराहरु समूह बनाएर झुण्ड रुप लिई बसाइँसराइँ गर्न थाल्दछन् । र किराहरु धेरै जसो सुस्त गतिमा हावा चलेको दिशा र कम चाप हुने ठाउँमा उड्ने गर्दछन् । यी सबै मिलेर बालीनाली तथा वनस्पतिलाईलाई नष्ट पार्दछन् । यस किराको प्रकोप वर्तमान समयमा निकै हानिकारक रुप लिरहेको अमेरिकी फौजी किरा भन्दा पनि बढी हुने गर्दछ ।

सामान्यतया एउटा सलह किराले आफ्नो वजन बराबरको (करिब २ ग्राम) खाना खान सक्छ । एक वर्ग किलोमिटर क्षेत्रफलमा ८० लाखसम्म किराहरु हुन सक्ने समेत प्रमाण पुष्टि भएको छ । यी किराहरु दैनिक ९० माईल (१५० किमि) सम्मको दुरी पार गर्न र ३ कि. मि. सम्मको उचाईमा उड्न सक्दछन् । किराको एउटै झुण्डले पृथ्वीको झण्डै २० प्रतिशत भूभाग ओगट्ने क्षमता राख्दछन् । एक दिनमा यो किराले करिब ३५,००० मान्छे बराबरको खाना खान सक्ने र जुनको महिनामा यो बढेर १,७५,००,००० सम्म पुग्ने अनुमान छ ।

प्राचीन समयमा ईजिप्टियनहरुले आफ्ना ग्रन्थहरुमा यस किरासम्बन्धि कुराहरु उल्लेख गरेका छन् । मुख्यतया कृषि पद्धतिमा र बालीनालीको राम्रो निगरानी हुन नसक्दा यी किराहरु उत्पन्न भए कि भन्ने कुराहरु भेटिन्छन् । सिकारी चरा तथा अन्य जीवहरुको अस्तित्व हराउनाले पनि यो किराको प्रकोप अझै बढिरहेको मानिन्छ । अहिले पाकिस्तान हुँदै भारतसम्म आइपुगेको सलह किरा सन् २०१८ मा साउदी अरेबिया नजिकैको अरेबियन पेनिनसुला मा दुई ठूला साईक्लोनको कारण भारी बर्षा हुन पुगेर प्रजनन भएको पाइन्छ । जहाँ ९ महिनामा ३ पुस्ताको प्रजनन गरेर यिनीहरुले आफ्नो संख्यालाई ८०० गुणाले समेत बढाएका थिए । नजिकैको यमन र ओमनले त्यस समय खाद्यसङकटमा जुधिरहेकाले उनीहरुले यस किरालाई प्रोटिनको रुपमा प्रयोग गरेको र किरा रेड सी र गल्फ अफ इडेनलाई पार गरी अफ्रिका पुगेको कुरा पनि सुन्नमा आएको छ ।

सन् २०१९ मा पनि अफ्रिकाको सोमालियामा समुन्द्री साईक्लोनले गर्दा भारी बर्षा भएको थियो । जसका कारण त्यहाँको माटो ओसिलो र वातावरणमा हरियाली छाउन थाल्यो । अन्ततः यो किराको प्रजनन् क्षमता तथा प्रजनन् दर बढ्न गयो । पुनः केन्यासम्म सन् २०२० को पहिलो महिनामा पुगेर वर्षा र चिसो माटोले गर्दा यस किराको जनसङख्या बढ्नमा थप मद्दत पुग्यो । पहिले–पहिले माटो तथा हावाको माध्यमबाट विषादी प्रयोग गरेर किराहरु मार्ने गरिएको पाइन्थ्यो ।

२० औँ शताब्दितिर सलह किराको झुण्ड रुप घट्दै गएको समेत थियो । हरेक १० वर्षमा सोलार गतिविधि कम हुने र यसबाट आउने लौकिक किरणले किरा तथा भाईरसको जीवनचक्रमा केही फरकपना ल्याएर यसको प्रकोप बढेको पाइन्छ । यसका साथै १०० वर्षमा सन् २०२० को सोलार गतिविधि सबैभन्दा कम रेकर्ड गरिएको छ ।

जलवायु परिवर्तन जस्ता विभिन्न मानवीय क्रियाकलापहरुले गर्दा पनि यो समस्या आएको हो र जैविक तवरबाट चाँडै यस किराको व्यवस्थापन गरिनु पर्दछ भन्ने आधुनिक मान्यता रहेको छ । अफ्रिका हुँदै इजिप्ट, जोर्डन र इजरायल जस्ता देशहरुमा लामो समयसम्म यस किराको प्रकोप देखिएको थियो भने यसले झण्डै २.५ लाख अमेरिकी डलर बराबरको क्षति समेत पुर्याएको थियो । खाद्य तथा कृषि संगठनले अफ्रिकामा सलह किरा व्यवस्थापनलाई सुरु गरेको कार्यक्रममा अरबौँको लगानी गर्दा पनि यो वर्ष अफ्रिकामा ५ करोड मान्छे खाद्यसङकटमा पर्ने बताइएको छ ।

सलह किराको प्रकोपलाई कम गर्नको लागि विभिन्न पहलहरु भईरहेका छन् । ती मध्ये केही उपायहरु यहाँ उल्लेख गरिएको छ :

१. विभिन्न उपकरणहरुको माध्यमबाट थोरै मात्रामा अर्गानोफोस्फेट रसायनहरुको प्रयोग गर्न सकिन्छ ।
२. कम दुरी उड्न सक्ने उपकरणबाट वायुमण्डलीय डिस्टर्ब सिर्जना गर्न सकिन्छ ।
३. किराले प्रजजन गर्न सक्ने ठाउँलाई कुनै रसायन या घरेलु विधिबाट नष्ट गर्न सकिन्छ ।
४. टायर बाल्ने, जालको प्रयोगबाट छोप्ने, खाडल बनाएर हाल्ने जस्ता क्रियाकलाप बाट पनि केही हदसम्म यस किराको प्रकोपलाई कम गर्न सकिन्छ ।
५. अलि बढी फैलिएको ठाउँमा भने जैविक किट्नाशक औषधि प्रयोग गर्न सकिन्छ ।
६.  हावा बहने दिशालाई तितरबितर बनाएर पनि यो किरालाई कम गर्न सकिन्छ ।
७. लसुन र पानीको अनुपात मिलाएर स्प्रे गर्नाले समेत कम हुन सक्छ । बिरुवाको पातमा पिठो छर्किन सकेमा पनि कम हुन सक्ने विभिन्न अध्ययनले जनाएको छ ।
८. भारतले यो बेला मालाथियोन विषादीको प्रयोग गरेको पाइएको छ भने, पाकिस्तानमा डाईजिनन र फिप्रोनिल अनि यसका साथै अफ्रिकामा ग्रीन मसल भन्ने विषादीको प्रयोग सबभन्दा सफल देखिएको छ ।

सलह किरासम्बन्धि केही तथ्यहरुः

१. खान नपाएमा सलहले एक अर्कालाई खाएर भोक मेटाउँछ ।
२. समुन्द्रमा एक हुल बसिसके पछि तिनीहरु डुबेर मर्छन् र अर्को हुल त्यसमाथि बसेर जीवित रहन्छन् ।
३. सन् १९३७ मा कोलोराडो सरकारले यसको नियन्त्रणको लागि आगो फाल्ने मेसिन र बमसम्मको प्रयोग गरेको थियो ।

 

लेखक : यस लेख तयार पार्ने ललित बि. सि. र महेश कुमार भण्डारी पक्लिहवा कृषि क्यापसमा अध्ययनरत छन् ।

सम्बन्धित समाचारहरु

अर्को समाचार

Leave a Reply

  • लोकप्रिय
  • कमेन्टहरु
  • भर्खरै

ताजा समाचार

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist